ललितपुर महानगरपालिकाको सम्पदा संरक्षण अभियान अन्तरगत एक विद्यालय एक सम्पदा संरक्षण कार्यक्रम सञ्चालन भइरहेको छ । सोहि सन्दर्भमा यस आदर्श सौल युवक माध्यमिक विद्यालयले कार्यविनायक मन्दिर परिसरको संरक्षण र प्रवर्द्धनका लागि कार्यविनायक मन्दिर पुजारी संघ संग मिलेर संयुक्त परियोजना सुरु गरेको छ । परियोजनाले स्थानीय सम्पदा सुरक्षित राख्ने कामलाई व्यवस्थित रूप दिन लक्ष्य तय गरेको छ । विद्यालयका विद्यार्थीले मन्दिर परिसरको सरसफाइ, भित्ते सचेतना सामग्री प्रकाशन गर्ने, पुराना संरचनाको अवस्थाको नक्सांकन र सचेतना कार्यक्रम सञ्चालन गर्ने, विद्यालयको स्काउट समूह बाट मन्दिरमा हुने भिड व्यवस्थापन गर्ने कार्य सञ्चलान गरिरहेको छ । विद्यालयले प्रत्येक सोमबार र मंगलबारको दिन मन्दिर परिसर सरसफाइ गर्ने कार्य गर्दै आएको छ । साथै फोहोर व्यवस्थापनको लागि आवश्यक सामग्री मन्दिरमा उपलब्ध गराएको छ । सम्पदा संरक्षणका काममा विद्यार्थीको सक्रियता बढाउने उद्देश्यले परियोजनामा शिक्षकहरुबाट नियमित अवलोकन, प्रतिवेदन लेखन र समुदायसँग समन्वय भइरहेको छ । यसले विद्यार्थीले स्थानीय संस्कृतिको मूल्य बुझ्ने अवसर पाउने अपेक्षा गरिएको छ ।

विद्यालयले परियोजनालाई दीर्घकालीन रूपमा अघि बढाउने तयारी गरेको छ । परियोजनाले कार्यबिनायक क्षेत्रको सौन्दर्य र पहिचान जोगाउन योगदान गर्ने अपेक्षा गरिएको छ । संरक्षण र सहकार्यको अभियानमा विद्यालय आसपासका थप सम्पदाक्षेत्रलाई पनि समेट्दै लाने लक्ष्य विद्यालयले लिएको छ ।
