ललितपुर, भदौ ९ – आदर्श सौलः युवक माध्यमिक विद्यालयमा आज शैक्षिक वर्ष २०८१ को समग्र पक्षको सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। विद्यालयका शैक्षिक, व्यवस्थापकीय र सह–पाठ्यक्रम गतिविधिहरूको मूल्याङ्कन गर्दै सुधारका सम्भावनाबारे छलफल गरिएको यस कार्यक्रममा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

सामाजिक परीक्षण समितिको संयोजकमा शिक्षक अभिभावक संघका अध्यक्ष एन्थोनी शाक्य रहनु भएको थियो भने सदस्यमा कविता खड्का, कृष्णशोभा पहेलि, नानीमैया हुमागाई र शिक्षक शिवकुमार थापा रहनुभएको थियो। प्रतिवेदन समिति सदस्य तथा शिक्षक शिवकुमार थापाले प्रस्तुत गर्नुभएको थियो। समितिले विद्यालयले गरेको उपलब्धि र प्रयासको प्रशंसा गर्दै आगामी दिनमा अझ सुदृढ सुधारका लागि सुझावसमेत पेस गर्यो।

कार्यक्रममा विद्यालयका कार्यप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै शिवराम बानियाले मन्तव्य राख्नुभयो। त्यस्तै, विद्यालयका पूर्वशिक्षक तथा लु निभा बाल सरोकार समूह का कार्यकारी निर्देशक नरेन्द्र डंगोलले सामाजिक परीक्षणको महत्व र विद्यालयको आगामी योजनासम्बन्धी सुझाव प्रस्तुत गर्नुभयो। श्री चुनिदेवी विद्यामन्दिरका प्रअ दिलभक्त डंगोलले समेत आफ्नो विचार राख्दै विद्यालयको प्रगति सामूहिक प्रयासबाट मात्र सम्भव हुने बताउनुभयो। कार्यक्रमको अन्त्यमा विद्यालयका प्रधानाध्यापक ज्ञानभक्त महर्जनले आफू यसै विद्यालयको विद्यार्थी भएर प्रअसम्म बन्न पुगेको स्मरण गर्दै विद्यालयको उन्नतिमा निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

सक्रिय सहभागिता र सरोकारवालाहरूको उपस्थिति बीच सम्पन्न यो सामाजिक परीक्षण कार्यक्रममा विद्यालयले गरेको उपलब्धि, चुनौती र सुधारका आयामहरूबारे महत्वपूर्ण छलफल भएको थियो ।